चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
२८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा चारदिन कुम्भस्नानका लागि विशेषदिन राखिएको थियो। धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । विशेषगरी स्नानलाई महत्वपूर्ण मानि बराह क्षेत्रमै सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ।धरान, वैशाख २६ : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदैछ।
आज मातातीर्थ औँंसी अर्थात आमाको मुख हेर्ने दिन परेकाले बिहानै दर्शनार्थीको भीडभाड बढेको पूर्णमहाकुम्भ मेला समितिका सचिव चन्द्र मगरले जानकारी दिए।
चतराधाममा शाही स्नान गर्न बिहान ६ बजे जगत्गुरु महाराजको साथमा न्यायधीश तिलकराज रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव अर्जुन पाख्रेल, बालसन्त मोहनशरण देवाचार्य, भारतका जगतगुरुसहित हजारौंको सङ्ख्यामा सर्वसाधारण र धर्मगुरुले बाजागाजा, झाँकीसहित बराह क्षेत्रधाममा पुगेर साधुसन्तले शाही स्नानपवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गरेका छन्।
पूर्णमहाकुम्भ मेलामा जम्मा चारवटा शाहीस्नान राखिएको थियो, त्यसमध्ये आजको शाहीस्नान अन्तिमभएकाले स्नान गर्नका लागि नेपालका विभिन्न स्थान र भारतलगायत देशबाट अघिल्लै दिन ठूलो सङ्ख्यामा मानिस कुम्भनगरी चतराधाममा आइपुगेको समितिका सचिव मगरले जानकारी दिए।
२८ गतेसम्म लाग्ने महाकुम्भ मेलामा चारदिन कुम्भस्नानका लागि विशेषदिन राखिएको थियो। धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ । विशेषगरी स्नानलाई महत्वपूर्ण मानि बराह क्षेत्रमै सबैभन्दा बढी स्नान गर्ने प्रचलन छ।
त्यहाँ खाली खुट्टा हिँडेर जानेआउने गरिन्छ। शुभमुर्हूतमा शाहीस्नान गरेमा अमरताको बरदानप्राप्त गर्ने धार्मिक विश्वास छ। कुम्भमा नुहाए अक्षयप्राप्ति हुने धार्मिक मान्यता रहेकाले मानिस देश विदेशबाट कुम्भस्नान गर्न चतराधाम आउने गरेको कुम्भ आयोजक समितिले जनाएको छ।
प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालेखि कुम्भको आयोजना हुँदैआएको छ। यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भमेला र बाह्र वर्षमा पूर्णकुम्भमेला लाग्ने गरेको छ।