प्रचण्डको भिडियो सन्देश- उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सक्छाैं
काठमाडाैं, चैत १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्र....

काठमाडाैं, चैत १५ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन्।
शनिबार एक भिडियो सन्देश दिँदै अध्यक्ष दाहालले विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गरेका छन्।
सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उनले भनेका छन्, “विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु।”
नेपालमा सङ्क्रमण भएका नागरिकरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गरेका छन्। “सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आग्रह गर्न चाहन्छु,”उनले भनेका छन्।
अध्यक्ष दाहालले कोभिड–१९ को सङ्क्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गरेका छन्।
कोरोना भाइरसविरुद्धको लडाईंको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोबल उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ। अध्यक्ष दाहालले भनेका छन्, “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ।”
उनले सङ्कटको यो अवस्थामा गरिब, असहायको सहयोगमा मुट्ठी फुकाउन, निजी क्षेत्रका व्यवसायीसँग पनि अपिल गरेका छन्। अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकतानुसार मास्क प्रयोग गर्ने र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आमजनसमुदायसँग अनुरोध गरेका छन्।











