Kathmandu Press

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा एमालेका वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्।
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी, वैशाख २४ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा एमालेका वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले एक समारोहबीच पद तथा गोपनीयताको सपथ खुवाएका छन्। मुख्यमन्त्री अधिकारीले आइतबार मात्रै प्रदेशसभा बैठकबाट विवादस्पद रुपमा विश्वासको मत पाएका थिए।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई नियुक्त गरेका थिए।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री अधिकारी, सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो।

प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकामा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ।

प्रकाशित मिति: २०:१८ बजे, सोमबार, वैशाख २४, २०८१