उपत्यकाका ६ फिडरमा एक साता बिजुली काटिने
नेपाल विद्युत प्राधिकरणले कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती गर्ने भएको हो।
काठमाडौं, वैशाख २२ : विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक हप्तासम्म बिजुली काटिने भएको छ।
नेपाल विद्युत प्राधिकरणले कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती गर्ने भएको हो।
प्राधिकरणका अनुसार गोठाटार फिडरअन्तर्गत गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति रोकिने छ। यस्तै, सोमबार कालीमाटी र रिगमेन फिडर अन्तर्गत कुलेश्वर वितरण केन्द्रको सोल्टीमोडदेखि रवीभवनसम्म ३ घण्टा विद्युत प्रवाह नहुने जनाइएको छ।
गोठाटार फिडर अन्तर्गत नै मंगलबार फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म लाइन काटिने भएको छ। यता, ताहाचल र चौमती फिडरमा पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा बुधबार विद्युत कटौती हुने जनाइएको छ।
प्राधिकरणले बिहीबार गोठाटार फिडरअन्तर्गत नै तेजविनायक चोकदेखि मानटार चोकसम्म विद्युत लाइन् काटिने छ। शुक्रबार मच्छेगाउँ फिडर अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत कटौती हुने जानकारी समेत प्राधिकरणले दिएको छ।






