Kathmandu Press

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो।
तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा (बाँके), वैशाख २२ : नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ। अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो।

स्वयंसेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताए। उनका अनुसार स्वयंसेवकले घर–घरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन्।

Hardik ivf

'उनीहरुले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन्। घरदैलोका क्रममा उनीहरुले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन्', सभापति सम्झनाले भन्नुभयो। 

टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो। 

उहाँका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ। केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। दिउँसोको समयमा मानिसको चलहपहल घटेको छ। गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्या समेत बढेको भेरी अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १४:४३ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्