‘होस्टेल ३’काे शीर्ष भूमिकामा ‘कुल ब्वाई’ अनुबिन्धत
‘होस्टेल ३ चलचित्रमा कलाकार पारस बम (कुल ब्वाई) लाई हार्दिक स्वागत छ,’ कुल ब्वाईसँगकाे तस्बिरसमेत सार्वजनिक गर्दै उनले शुक्रबार फेसबुकमा लेखेका छन्।काठमाडौं, वैशाख २१ : सामाजिक सञ्जाल ‘टिकटक’बाट चर्चामा आएका र युट्युब, फेसबुक, इन्स्टाग्राममा समेत सेलिब्रेटीको छवि बनाएका कुल ब्वाई अब ठुलो पर्दामा देखिने भएका छन्।
वास्तविक नाम पारस बम मल्ल भएका यी सामाजिक सञ्जाल सेलिब्रेटीले विभिन्न मौलिक ‘कन्टेन्ट’ बनाएर धेरैको मन जितेका छन्। खासगरी किशाेरकिशाेरीहरूको संवेगात्मक स्थिति, उनीहरूका कथाव्यथा, संघर्ष र आरोहअवरोहलाई भिडियो सामग्रीमा उतार्न खप्पिस ब्वाई ‘होस्टेल ३’ बाट ठुलो पर्दामा देखिन लागेका हुन्। उनी शुक्रबार चलचित्रमा अनुबिन्धत भएका हुन्।
‘होस्टेल ३’ बाटै चलचित्र अभिनयमा डेब्यु गर्न लागेका उनलाई शीर्ष भूमिकामा देख्न पाइने बताइएको छ। होस्टलको ३ को निर्देशन सशान कँडेलले निर्देशन गर्नेछन्। चलचित्रको कथा पनि उनकै हो, पटकथा भने माधव शर्माले तयार पारिरहेको बताइएको छ।
निर्देशक सशानले आफ्नो चलचित्रमा कुल ब्वायलाई समेटेको जानकारी सामाजिक सञ्जालबाट गराएका छन्। ‘होस्टेल ३ चलचित्रमा कलाकार पारस बम (कुल ब्वाई) लाई हार्दिक स्वागत छ,’ कुल ब्वाईसँगकाे तस्बिरसमेत सार्वजनिक गर्दै उनले शुक्रबार फेसबुकमा लेखेका छन्। यस चलचित्रका निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शंकर कोइराला, सहनिर्माता सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन्।
यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’काे निर्देशन सुनिल रावलले गरेका थिए। ‘होस्टेल’मा अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, गौरव पहारी, रिस्ता बस्नेतलगायत कलाकार थिए भने ‘होस्टेल रिटर्न्स’मा नाजिर हुसेन, स्वस्तिमा खड्का, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले कलाकारले अभिनय गरेका थिए। यीमध्ये धेरैजसो कलाकारले यी चलचित्रबटै डेब्यु गरेका थिए। उनीहरू अहिले पनि नेपाली चलचित्रमा राम्रैसँग जमिरहेका छन्।
‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाए पनि ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउनेछ। होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेकाले कुल ब्वाईले प्रमुख पात्रका रूपमा न्याय गर्न सक्ने विश्वास चलचित्र निर्माण टिमले गरेको छ।
गायकको समेत पहिचा बनाएका कुल ब्यायले ‘कान्छी कता हिंडेको’, ‘बुवाको नाक होस्’ लगायत गीत गाएका छन्। यस वर्षको अन्त्यतिर फिल्म प्रदर्शन हुने बताइएको छ।