अहिलेको चुनौती सामना गर्न पार्टी एकताबद्ध रुपमा अघि बढ्नुपर्छ : देउवा

काठमाडाैं, वैशाख २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघको १० औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौति देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।
यसअघि जस्तै अहिलेको चुनौती समाधान गर्न कांग्रेस सफल हुने उहाको विश्वास छ । सभापति देउवाले देशमा खेलकुद प्रति युवाहरुको आकर्षण रहेको भन्दै खेल क्षेत्रको बिकासमा सवै गम्भीर भएर लाग्नुपर्ने धारणा राखे।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदमा जस्तै नेपाली राजनीतिमा अनुशासन कायम गर्नुपर्ने बताए। उनले गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भएको र नेपालको राजनीति गम्भीर घुम्तीमा पुगेको धारणा राखे।
उनले राजनीतिलाई सही ट्रयाकमा ल्याउने काम कांग्रेसकै भएकाले निराशालाई आशामा बदल्ने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।












