Kathmandu Press

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए।
सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए।

'मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताका हितमा राम्रा काम मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा काम मात्रै गर्न निर्देशित गर्दछु', प्रधानमन्त्रीले भने, 'यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले नै सम्झिने गरी धेरै साहसिक र जनपक्षीय कामहरू भएका छन् ।'

Hardik ivf

संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै उनले नेपाल श्रीलंका नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए। 'शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ', प्रधानमन्त्री दाहालले भने, 'अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फउन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ ।'

पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।

सरकारले चालेको सुशासनका कार्यबारे प्रधानमन्त्री दाहालले भने, 'नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको छ ।'

मिटरब्याजपीडितका पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जनताको पक्षमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्दै प्रधानमन्त्रीले  राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायका क्षेत्रमा महत्वपूर्ण काम भएको बताए।

उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्‍याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको, विपन्न र असहाय नागरिकका लागि अस्पतालमा दुई हजार नौ सय निःशुल्क श्यया तथा गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनु, बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति हुनु र देशभित्र विद्युत् उत्पादनमा जोड दिनुले देशको आर्थिक भविष्य उज्वल रहेको छ भन्ने स्पष्ट भएको बताए।

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, वैशाख २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्