Kathmandu Press

‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’

उनले वर्तमान व्यवस्थाबाट समाजवादको बाटोमा जान ढिला गर्न नहुने बताए। राष्ट्रको चाबी समातेका नेताहरु नै भ्रष्ट भएपछि गणतन्त्रविरुद्धको जनमत बढेको आरोप पनि उनले लगाए।
‘राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ’

काठमाडौं, वैशाख १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेतृत्व जनजीविकाको सवालबाट विचलित भएका कारण मुलुकमा गणतान्त्रिक व्यवस्था पनि अफाप भयो भन्ने जमात बढेको बताएका छन्।

काठमाडौंमा बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेकपा मसालको नवौं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रममा उनले वर्तमान व्यवस्थाबाट समाजवादको बाटोमा जान ढिला गर्न नहुने बताए। राष्ट्रको चाबी समातेका नेताहरु नै भ्रष्ट भएपछि गणतन्त्रविरुद्धको जनमत बढेको आरोप पनि उनले लगाए।

Hardik ivf

‘राजनीति, पार्टीहरुप्रति, नेताहरुप्रति र लोकतन्त्र, गणतन्त्रप्रति जनताहरुको व्यापक घृणा र निराशा छ। त्यसैले हामीले यही लोकतन्त्र र गणतन्त्रबाट नेपाली जनताको समस्या हुने भए त दैनिक तीन हजार पाँच सय नेपाली बाहिर भाग्ने थिएनन्,’ उनले भने, ‘अहिले पनि यो लोकतन्त्र गणतन्त्रलाई सिध्याउनुपर्छ भन्ने ठूलो जनमत छ, त्यसको कारण जसले यो व्यवस्था ल्याएका हुन् उनीहरु नै भ्रष्ट छन्। जसले राष्ट्रको चाबी समातेको छ त्यो नै भ्रष्ट भएपछि सबै नीतिको माउ नीति राजनीति, जुन देशका अगुवाइ गर्नेहरु भ्रष्ट हुन्छन्। ती भ्रष्टप्रति जनताको घृणा छ।’

उनले पृथ्वीमा भएका सबै मानिसलाई खान, लाउन, बिरामी हुँदा औषधि गर्न पुग्ने सम्पत्ति भए तापनि जनता पीडामा बाँच्नु परेको भन्दै १० प्रतिशतले सबै सम्पत्ति आफ्नो हातमा राखेको बताए।

कम्युनिष्ट पार्टी पनि पुँजीवादी पार्टीमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले त्यसको परिणामस्वरुप वर्तमान राजनीति अस्थिर अवस्थामा पुगेको बताए। लोकतन्त्र र गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

‘नेपालमा अहिले केही पनि हुँदैन भन्ने भाष्य निर्माण हुँदै गएको छ । सबै बाहिर जाने क्रम बढ्दो छ। अहिले देशमा गम्भीर संकट छ,’ अध्यक्ष केसीले भने, ‘लोकतन्त्र, गणतन्त्रको काम छैन भन्ने हल्ला पनि बढ्दो छ  लोकतन्त्र, गणतन्त्रलाई चारैतिरबाट हमला भइरहेको छ। हामीले लोकतन्त्र, गणतन्त्रलाई प्रयोग गरेर अहिलेको भन्दा राम्रो समाजवाद ल्याउने हो।’

राजनीतिक नेतृत्वले मुलुकको निराशा चिर्नेगरि काम गर्नुपर्ने चुनौतीलाई गम्भीर भएर मनन गर्नुपर्ने उनले बताए।

 

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्