‘सिधाकुरा’ मा प्रसारित भिडियोबारे अख्तियारले गर्यो छानबिनको माग
अख्तियारकातर्फबाट प्रवक्ता नरहरि घिमिरेले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।
काठमाडौं, वैशाख १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सिधाकुरा’ मा प्रसारित भिडियोका सम्बन्धमा छानबिनको माग गरेको छ।
अख्तियारकातर्फबाट प्रवक्ता नरहरि घिमिरेले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्। अख्तियारको विज्ञप्तिमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निक्र्योल भइसकेको फैसला अनुरुपको काम कारवाही अबलम्बन गर्ने एवम् आफ्नो अधिकारक्षेत्रभित्रको उजुरी उपर अनुसन्धान एवम् अभियोजन गर्नुबाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने जनाइएको छ।
‘यस्ता भ्रामक क्रियाकलापमा आयोगको कुनै संलग्नता नरहेको व्यहोरा जानकारी गराइन्छ। साथै यस प्रकारका भ्रामक सामग्री प्रसारण–प्रकाशन गर्नेमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्नसमेत सम्बन्धित निकायलाई आयोग अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश र मिडिया संचालकलाई मुछेर भ्रामक समाचार सामग्री तयार पारेर प्रसारण गरेको भन्दै ‘सिधा कुरा’ नामक अनलाइन, युट्युब च्यानल, त्यसका प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भइसकेको छ।












