३५ हजार ६११ मत गन्दा रास्वपाका मिलनले बल्ल कटाए २ हजार
उनले २ हजार ५७ मत पाएका छन्। उनी चाैथाे स्थानमा छन्।
काठमाडौं, वैशाख १७ : इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि अनपेक्षित नतिजा आइरहेको छ। त्यहाँ ३५ हजार ६११ मत गणना हुँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले बल्ल २ हजार कटाएका छन्। उनले २ हजार ५७ मत मात्र पाएका छन्। उनी चाैथाे स्थानमा छन्।
यसअघि तनहुँकाे उपनिर्वाचनमा जसरी अपत्यारिलाे नतिजा ल्याएर स्वर्णिम वाग्लेले जितेका थिए, इलाममा त्यस्तै हुने अपेक्षा रास्वपाले राखेकाे थियाे। तर अनपेक्षित रूपमा मिलनले थाेरै मतमा चित्त बुझाउनुपरेकाे अवस्था निम्तिएकाे छ।
त्यहाँ एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। पछिल्लाे मतपरिणामअनुसार उनले १४ हजार ६१३ मत पाएका छन्। उनीभन्दा पछाडि रहेका कांग्रेस उम्मेदवार डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ५ हजार ३०२ छ।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ५७० मत पाएका छन्। उनले कांग्रेसका खड्कालाई नजिकबाट पछ्याइरहेका छन्।












