Kathmandu Press

‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

उनले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताए।
‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’

काठमाडौं, वैशाख १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
 
चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै उनले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको दाबी गरे।

‘आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ। पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो,’ उनले भने, ‘अहिलेसम्म मुलुकका ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसकेको छ।’

Hardik ivf

त्यस्तै उनले नेपाल, भारत र बंगलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बंगलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताए। गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित भएको उनको दाबी छ।

‘उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत् विकास र बजार सुनिश्चिताका लागि अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने।

मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन निर्माण भएसँगै मस्र्याङ्दी नदी करिडोरमा निर्माण भएका र आगामी दिनमा निर्माण हुने आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन सहज भएको छ।

प्रकाशित मिति: २१:०६ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्