नेपालमा कोरोना परीक्षण : क्षमता ९ सय, परीक्षण दैनिक ६० जनाको मात्रै !
काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले सतर्कता अपनाएको भएपनि परीक्षण भने क्षमता अनुसार हुन सकेको छैन। जसले गर्दा संक्रमणको ज....
काठमाडौं, चैत १३ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले सतर्कता अपनाएको भएपनि परीक्षण भने क्षमता अनुसार हुन सकेको छैन। जसले गर्दा संक्रमणको जोखिम कम नभएको विज्ञहरु बताउँछन्।
नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने एउटा मात्रै ठाउँ छ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला। टेकुस्थित प्रयोगशलामा क्षमता अनुसार परीक्षण भइरहेको छैन।
प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका पनि अहिलेसम्म क्षमता अनुसार परीक्षण नभएको स्वीकार्छन्। दैनिक नौ सय जनाको परीक्षण गर्ने क्षमता छ, तर अहिले दैनिक ५० देखि ६० जनाको मात्र परीक्षण भइरहेको छ।
अहिले शंकास्पद व्यक्तिको मात्रै परीक्षण भइरहेको छ। अन्य व्यक्तिको परिक्षण हुन सकेको छैन। 'जति मानिस परीक्षणका लागि आउँछन्, उनीहरुको मात्र परीक्षण गरिरहेका छौँ,' उनले भने।
बुधबारसम्म ६ सय ९० जनामा मात्रै कोरोना भाइरसको परीक्षण भएको छ। जसमा तीन जनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको प्रयोगशाला निर्देशक डा.रुना झाले बताइन्। परीक्षणको दर बढाउनु पर्ने उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठनले पनि परीक्षणमा जोड दिन आग्रह गरेको छ। जति धेरै परीक्षण गर्न सकियो त्यतिधेरै कोरोना भाइरसको संक्रमणबाट बच्न सक्ने संगठनको भनाइ छ।
नेपालमा पनि कोरोना भाइरसको परीक्षण बढाउन आग्रह गरेको छ। विज्ञहरुले पनि परीक्षण बढाउनु पर्नेमा जोड दिएका छन्। कोरोना भाइरसको परीक्षण तीव्रता दिन नसके भयावह रुप लिनसक्ने विज्ञहरुको भनाइ छ।