मदनलाई सम्झेर पूर्वराष्ट्रपति विद्यादेवी भावुक
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरको गोदावरीमा आयोजित समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको हो।
काठमाडाैं, वैशाख १० : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका महासचिव मदन भण्डारीलाई सम्झेर भावुक भएकी छन्। नेकपा एमालेले प्रदान गरेकाे गणतन्त्र गौरव सम्मान ग्रहणपछि सम्बाेधनका क्रममा एमालेका तत्कालीन महासचिवसमेत रहेका मदन भण्डारीलाई सम्झेर उनी भावुक भएकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको उनले जिकिर गरिन्। उनले आफ्नो सम्मान समग्र लोकतान्त्रिक गणतन्त्रप्रतिको आस्था र विश्वासमाथिको सम्मान भएको भन्दै थप जिम्मेवारीबोध भएको बताइन्।
मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको उनले बताइन्।
उनले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने अवस्था विद्यमान रहेको धारणा राखिन्। त्यस्तै भण्डारीले कम्युनिस्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनबारे गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बेला आएको पनि बताइन्। कार्यक्रम मदन भण्डारीसम्बन्धी पुस्तक समेत सार्वजनिक गरिएको थियो।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सोमबार ललितपुरको गोदावरीमा आयोजित समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरेको हो।












