यस्ता छन् मन्त्रिपरिषदका निर्णय
हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।
काठमाडाैं, वैशाख १० : सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्षित गरेर लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई अध्यादेशमार्फत संशोधनका राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
यस्तै कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएकाले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता शर्माले बताइन्। शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन्।
शेखको नेपाल भ्रमणका क्रममा दुवै देशलाई फाइदा हुने गरी विभिन्न मन्त्रालयसँग सम्बन्धित द्विपक्षीय सम्झौताहरु हुने जानकारी दिइन्। मन्त्रिपरिषद् बैठकले सचिव मधुकुमार मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन्।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएसँगै सरुवा गरिएको हो भने हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।












