सत्ता समकीरणलाई सफल, परिणामुखी र दीगो बनाउने एमालेको प्रतिबद्धता
प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फाल्गुन २१ गते गठन भएको नयाँ समिकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समिकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको हो।
काठमाडौं, वैशाख ९ : नेकपा एमालेले नयाँ सत्ता समकीरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।
दुई दिनसम्म ललितपुरको गोदावरीमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै फाल्गुन २१ गते गठन भएको नयाँ समिकरणप्रति सन्तुष्ट व्यक्त गर्दै समिकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिवद्धता व्यक्त गरेको हो।
पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
बैठकले दलहरुबीचको नयाँ समिकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थीर र अन्यौल तर्फ ढकेल्ने काम प्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उनले बताए।
आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको रिमालले बताए।
बैठकले भ्रष्टाचारबिरुद्ध सम्झौताहिन ढंगले प्रस्तुत हुन, यसकाविरुद्ध जेहाद छेड्न र कानूनका नजरमा सवै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसँग माग गरिएको पनि उपमहासचिव रिमालले जनाए।
त्यस्तै बैठकले सहकारीहरुमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानविन गरि दोषीलाई कानुनी कठघरामा ल्याई बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
बैठकको पहिलो दिन शनिबार बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत भएका थिए। यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ–आफ्ना प्रतिवेदन पेस गरेका थिए।
६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो । स्वास्थ्यमा समस्या भएका कारण अध्यक्ष ओली भने आइतबारको बैठकमा सहभागी भएनन्।












