सुनिल र विकलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। पौडेलले २३ करोड ७५ लाख बिगो बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।
काठमाडौं, वैशाख ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध आइतबार अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। पौडेलले २३ करोड ७५ लाख बिगो बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।
अख्तियारको मूल्याङ्कनमा आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको बताउँदै भ्रष्टाचारमा मुद्दा चलाइएको हो । पौडेल अनुसन्धानका लागि गत १० माघदेखि अख्तियारकै हिरासतमा थिए । उनलाई छानविनका लागि पक्राउ गरेर हिरासतमा राखिएको थियो।
सुनिल पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा दायर यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको थियो।
अख्तियारले सुनिलसँग पक्राउ परेका विकल पौडेलविरुद्ध पनि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएको हो। विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका थिए।












