प्राध्यापक पदपूर्तिकाे विज्ञापन कार्यविधिविपरीत रहेकाे भन्दै सच्याउन अनेरास्ववियुकाे माग
सेवा आयोगले प्राध्यापक पदपूर्तिका लागि गरेकाे विज्ञापनमा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गरेको अनेरास्ववियुकाे दाबी छ।
काठमाडौं, वैशाख ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि गरेकाे विज्ञापन प्रचलित कार्यविधि विपरीत रहेकाे भन्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ।
सेवा आयोगले प्राध्यापक पदपूर्तिका लागि गरेकाे विज्ञापनमा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गरेको अनेरास्ववियुकाे दाबी छ। निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन यस्ताे गरिएकाे अनेरास्ववियुको आरोप छ ।
त्रिविको कार्यकारी परिषदले २०८० असोज २१ मा कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले त्यसलाई बेवास्ता गरेर प्राध्यापक पदपूर्तिमा बदनियत राखेको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले बताएका छन्।
उनीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि विज्ञापन सार्वजनिक गरेको दिनसम्म विश्वविद्यालय जुन ऐन, विनियम, क्रियाशील छ, प्राध्यापक तथा कर्मचारी छनोट प्रक्रियामा पनि सोही लागू गरिनुपर्ने व्यवस्था र अभ्यास भएता पनि सेवा आयोग मार्फत सीमित व्यक्ति र समूहलाई त्रिविमा प्राध्यापक बनाउन खोज्नु सेवा आयोग अध्यक्षमा चलाखी, बदमासी, राजनीतिक आस्था हावी हुनु हो।’
विश्वविद्यालय पुनः भर्ती केन्द्र बन्न लागेकाे आशंका व्यक्त गर्दै भएको अनेरास्ववियुले वैशाख १ मा प्रकाशित विज्ञापन खारेज गरी प्रचलित कानुनअनुसार अर्को विज्ञापन गर्न माग गरेको छ।













