एनसेल बमकाण्डले त्रस्त निजी क्षेत्र, लगानी सम्मेलन सफल हुनेमै आशंका
काठमाडौं, फागुन १३ : सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा बहुराष्ट्रिय कम्पनी एनसेलका १६ वटा टावरमा एकै दिन आक्रमणपछि लगानीकर्ताह....
काठमाडौं, फागुन १३ : सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा बहुराष्ट्रिय कम्पनी एनसेलका १६ वटा टावरमा एकै दिन आक्रमणपछि लगानीकर्ताहरु सशंकित देखिएका छन् ।
विगत देखिनै नेपालमा सुरक्षाको ग्यारेन्टी खोजीरहेका स्वदेशी तथा विदेशी लगानीकर्ताहरु शान्तिप्रक्रियापछि केही उत्साहित भएका थिए । तर दुरसंचार जस्तो अत्यावस्यक सेवामाथी आक्रमण गरेर उद्योगी, व्यवसायी तथा लगानीगर्ने तर्खरमा रहेको निजी क्षेत्र पुनः एकपटक झस्किएको छ ।
निरन्तर वैदेशिक लगानी घटिरहेको समयमा झनै यस्ता गतिविधिले नकारात्मक सन्देश जाने लगानीकर्ताहरुको बुझाई छ ।
यसले नेपालमा अझै लगानीको वातावरण नबनेको हो कि भन्ने आशंका समेत उव्जाएको छ । विदेशी लगानी भित्र्याउन भन्दै सरकारले अगामी चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलनको आयोजना गरेको छ ।
नेपाली लगानी भित्र्याउन भन्दै अर्थमन्त्री डा. युवराज खतिवडा अहिले लण्डन भ्रमणमा छन् । तर सोही समयमा नेपालमा भएको गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश गएकोले दिर्घकालिन असर पार्ने निजी क्षेत्रका विभिन्न संगठनहरुले बताएका छन् । एनसेलको टावरमा ज्यान जाने गरी भएको आक्रमणले अन्य लगानी सहित पर्यटन क्षेत्रमा समेतमा असर पर्नेमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । ‘हामीले सरकारको धारणा मागिरहेका छौ, कानुनी राज्यमा कानुनको उल्लंघन कहिलेसम्म ?’ नेपाल उद्योग परिसंघ (सिएनआइ) का अध्यक्ष हरिभक्त शर्माले भने, ‘विगतको लामो द्धन्द्धबाट प्रताडित लगानीकर्ता फेरी डराउने दिन आएको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।’
सरकारले लगानी सम्मेलनको तयारीका लागि भन्र्दै अर्थमन्त्री खतिवडाको संयोजकत्वमा निर्देशक समिति बनाएर काम गरिरहेको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकार सचिवहरु, निजी क्षेत्रका प्रतिनिधि समेत छन् ।
लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह–आयोजनामा सम्मेलन हुन लागेको छ ।
निजी क्षेत्रको समेत सहयोगमा लगानी सम्मेलन हुन लागेको वेला भएका यस्ता गतिवधीले वैदेशिक लगानीकर्ता मात्र नभएर स्वदेशी लगानी कर्तामानै त्रास उत्पन्न भएको अध्यक्ष शर्माको भनाई छ । ‘सरकारले यस्ता असन्तुष्टीहरुलाई छिटो समाधान गरोस, पुनः लगानीको वातावरण विग्रिएमा समस्या लामो समयसम्म जाने छ,’ अध्यक्ष शर्माले भने ।
यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल टावर लक्षित गरेर भएको आक्रमणको निन्दा गरेको छ । महासंघले एनसेलको मूख्यालय र विभिन्न जिल्लामा रहेको टावरमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन समेत सरकारसँग माग गरेको छ ।
‘यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ त्यसलाई गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँदछ,’ महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशभित्र राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडी बढने वातावरण बनिरहेको अवस्थामा भएका यस्ता आतंककारी घटनाले मुलुकलाई पुनःएकपटक झस्काएको छ ।’
२०७३ सालमा पहिलो पटक गरिएको ‘लगानी सम्मेलन’ पछि लगानीको वातावरणमा भएको सुधारको समीक्षा गर्न पनि पुनः सम्मेलन गर्न लागिएको सरकारले जनाउँदै आएको छ ।
सम्मेलनमा विभिन्न मुलुकका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैह्रआवासीय नेपाली संघ, निजी क्षेत्र, विषय विज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरुको सहभागिता रहने छ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तालिका छ । नेपालको वातावरण, लगानीसँग सम्बन्धित नीतिगत एवं प्रक्रियागत सुधार, लगानीका सम्भाव्य क्षेत्र र लगानीका लागि आवश्यक उपयुक्त केही परियोजनाहरु सम्मेलनमा प्रस्तुत गरिनेछ ।
सम्मेलनमा नेपालमा लगानीका अवसरहरु, आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा विद्युत उत्पादन, सूचना तथा सञ्चार प्रविधि मार्फत डिजिटल अर्थ व्यवस्था निर्माण जस्ता विषयमा सम्मेलनमा छलफल हुनेछ ।
यस्तै, सम्मेलनमा मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तब्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीका अवसर, नेपालमा लगानीको अनुभाव, लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र अन्तरक्रिया समेत हुने कार्यक्रम तय गरिएको छ ।