आपूर्तिमन्त्री भट्ट भन्छन्- खाद्य वस्तुको अभाव भए ११३७ मा फोन गर्नुस्, तरून्तै ल्याइदिन्छाैँ
काठमाडाैं, चैत १२ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्थ....

काठमाडाैं, चैत १२ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको बताएका छन्।
मन्त्री भट्टले सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको बताएका हुन्। त्यसका लागि मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद र आवश्यक सहयोगको काममा लागि परेको उनले बताए।
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए। काठमाडौं उपत्यकाको हकमा अत्यावश्यक वस्तु पुर्याउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ। काठमाडौंमा १५, ललितपुर र भक्तापुरमा सात-सात मिनीट्रक तयारी अवस्था छन्।
“ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पुर्याउने छ”, मन्त्री भट्टले भने, “जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पुर्याउँछौँ।”
त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ। “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ”, उनले भने, “तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ। अहिले हामी त्यसको तयारीमा छौँ।” सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पुर्याइने उनले बताए। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पुर्याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ थियो।
जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पुर्याउने व्यवस्था गर्न भनिएको उनले बताए।
“टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पुर्याउन पनि सहजीकरण गरिरहेका छौँ”, उनले भने, “त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछाैं।”
मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको उनले बताए। “यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०-२२ बुलेट ग्यास आएको छ”, मन्त्री भट्टले भने, “नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ। हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ।”
आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए। अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ छ।
-राससको सहयोगमा











