Kathmandu Press

नेपाली आकाशबाट तिब्बतको मानसरोवर र कैलाश पर्वत दर्शन गर्दै भारतीय पर्यटक

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाशलाई महादेवको घर भनिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो ।
नेपाली आकाशबाट तिब्बतको मानसरोवर र कैलाश पर्वत दर्शन गर्दै भारतीय पर्यटक

काठमाडौं, वैशाख ७ : दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । अधिकांश भारतीय पर्यटक नित्यकर्म सकाइवरी तयार भइसकेका थिए । कैलाश पर्वत दर्शन गर्न जानुअघि उनीहरुले नजिकैको जय बागेश्वरी मन्दिरमा सामूहिक दर्शन गरे । अनि उनीहरु सवार बस विमानस्थलतर्फ लाग्यो ।

विमानमार्फत आकाशबाटै तिब्बतमा रहेको कैलाश पर्वतको दर्शन गर्न जाँदै थिए । विमानमा चढ्दै गर्दा भारतीय पर्यटकको अनुहारमा साक्षात कैलाश पर्वत र मानसरोवर ताल आँखै अगाडि हेर्न पाउने उत्कट चाहना झल्कन्थ्यो । हिन्दु धर्ममा कैलाशलाई महादेवको घर भनिन्छ । महादेव बस्ने ठाउँ हेर्ने अभिलासाले तिर्थयात्रीहरुको अनुहार उज्यालिएको थियो ।

“विमानले जसै टेकअफ गरी उत्तरतर्फ उचाइ बढाउँदै गयो, यात्रीहरुको मनमा कौतुहलता बढ्दै गरेको प्रस्ट देखिन्थ्यो । झण्डै ३० मिनेटको उडानपछि विमान नेपाल–चीनको सीमा नजिकै पुग्यो”, पर्वतीय उडानबाट फर्केपछि पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले भने ।

Hardik ivf

विमानको झ्यालबाट एकोहोरो आँखा दौडाइरहेका उनीहरुले दुई हात जोडेर नमस्कार गरे । यात्रुहरुका आँखै अगाडि महादेवको घर अर्थात् कैलाश पर्वत । उनीहरु  मानसरोवर ताल हेरेर आपसमा केही कुराकानी पनि गरे ।

यत्तिकैमा विमानमा रहेका पण्डितले विमानका यात्रुहरुको ध्यानाकर्षण गराए । सबैलाई कैलाशतर्फ फर्किएर हात जोड्न अह्राए । अनि मन्त्रोचारणद्वारा कैलाश पर्वतका अगाडि विमानभित्रैबाट पूजा गराउन सुरु गरे । उनले मन्त्र सकाएपछि कैलाश पर्वत र मानसरोवर तालको धार्मिक महत्व, आस्था र इतिहासबारे जानकारी गराउन थाले ।

महादेवको बासस्थान आँखै अगाडि हेर्न पाउँदा हर्षविभोर उनीहरु पण्डितले बताएका हरेक विषयमा चासोपूर्ण सुनिरहेका थिए । विमानले तीन, चार फन्को लगाइसकेको थियो । कैलाशलाई साक्षात दर्शन गर्न पाउँदाको खुसी यात्रुहरुको आँखाबाट छल्किरहेको थियो । कोही आँखाभरी खुसीका आशु बगाउँदै एकोहोरो कैलाश हेरिरहेका थिए भने केहीले मौन मुद्रामा रुद्राक्षको माला घुमाउँदै जप सुरु गरिरहेका थिए ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका क्षेत्रीय निर्देशक केशब न्यौपानेको परिकल्पना, पथिल होलिडेजको व्यवस्थापन र नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्ससँगको समन्वयमा श्री एयरलाइन्सको विमानमार्फत पर्यटकलाई पर्वतीय उडान गराउँदै आइएको छ । यात्रीहरुको आवासीय प्रवन्ध सिद्धार्थ हस्पिटालिटीले गर्दै आएको छ ।
 
रामनमवीको दिन कैलाश दर्शनका लागि सात वटा माउन्टेन फ्लाइट (पर्वतीय उडान) भयो । जसमा आठ जना नेपालीसहित दुर्इ सय ४० जनाले कैलाश पर्वतको दर्शन गरेका थिए । कैलाश पर्वत दर्शनपछि उनीहरुले नेपालगञ्ज फर्केर रुद्राभिषेक पूजा समेत गरेका थिए ।

पथिल होलिडेजले नयाँ गन्तव्यका रुपमा यो पर्वतीय उडानलाई स्थापित गर्न भारतीय बजारमा सक्दो बजारीकरण गरिरहेको न्यौपानेको भनाइ छ । “हाम्रा लागि भारत ठूलो बजार हो, हामीले भरतका विभिन्न सहरबाट यहाँ ल्याएर माउण्टेन फ्लाइटमार्फत कैलाश पर्वतको दर्शन गराउँछौँ”, न्यौपानेले भने, “तिर्थयात्रीहरुलाई दुइतर्फी यातायात, खान, बस्न र हवाई उडानका लागि एउटै प्याकेजमा बनाएर यात्रा सहज बनाइरहेका छौँ ।”

भारतको कलकत्ताबाट कैलाश दर्शन गर्न मङ्गलबार साँझपख नेपालगञ्ज आइपुगेकी सञ्चिता गाङ्गुलीले यो आफ्नो जीवनको महत्वपूर्ण पल भएको बताए । “हामी यहाँ योजना बनाएर आएका थिएनौँ, सायद महादेवको ‘ब्लेसिङ’ थियो होला, हाम्रो यो पारिवारिक ‘ट्रिप’ निकै राम्रो भयो”, उनले भने । उनले बादल पनि नभएकाले कैलाश पर्वत र दुवै ताल स्पष्ट हेर्न पाएकोमा आफूलाई निकै भाग्यमानी ठानेको सुनाए ।

पछिल्लो केही वर्षयता भारतीयहरु भिसाको समस्याका कारण कैलाश मानसरोवर दर्शन गर्न जान पाएका छैनन् । भिसा, समय वा स्वास्थ्यको समस्या हुनेलाई पर्वतीय उडानमार्फतको दर्शन सबैभन्दा उपयुक्त विकल्प भएको भारतको बैंगलोरबाट आउनुभएका ८० वर्षे विशाल कुँवरले बताए ।

कैशाल पर्वत दर्शन गरेर आफू निकै धन्य भएको दिल्लीबाट आउनुभएका विनोद शर्माले सुनाए । उनले भने, “जीवनमा यति सहज ढङ्गले कैलाश पर्वतको दर्शन गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइन । म यो खुसीको बयान गर्न नि शब्द छु ।”

उनले आफ्नो ‘बकेट लिस्ट’को एउटा योजना पूरा भएको बताए । आफूहरु कैलाश दर्शन गरेर सिद्धार्थ होटलमा आइपुग्दा रुद्राक्षको माला र प्रसादले स्वागत गरेको पल बिर्सन नसक्ने भन्दै उनले भोले बाबाको आशीर्वाद पाएँ झैँ महसुस भएको सुनाए ।

गत माघदेखि नेपालगञ्जबाट कैलाश पर्वत दर्शनका लागि सुरु गरेको पर्वतीय उडानमार्फत हालसम्म पाँच सयभन्दा बढी भारतीय नागरिकले कैलाश पर्वतको दर्शन गरिसकेका छन् । आगामी बैशाख १० गतेको लागि करिब २ सय जनाको बुकिङ भैसकेको पथिल होलिडेजले बताएको छ ।

उद्योग वाणिज्य सङ्घ बाँकेका अध्यक्ष टङ्क धामीले नेपालगञ्जमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा माउन्टेन फ्लाइट भएका भन्दै यसमार्फत यहाँको पर्यटन चलायमान हुन सहज भएको उल्लेख गरे । उनले यसले पर्यटकको आगमन र त्यसबाट हुने आम्दानी बढाएको बताए । 

प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्