दुई दिनमै थपिए कोरोनाका एक लाख बिरामी
काठमाडौं, चैत १२ : कोरोना भाइरसको संक्रमण संसारभरि तीव्र रुपमा बढेको छ। दुई दिनमा एक लाखभन्दा बढी बिरामी थपिएका छन्।
विश्व स्वास्थ्य संगठनका....

काठमाडौं, चैत १२ : कोरोना भाइरसको संक्रमण संसारभरि तीव्र रुपमा बढेको छ। दुई दिनमा एक लाखभन्दा बढी बिरामी थपिएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, एक सातादेखि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको हो। गत दुई दिनमा मात्रै एक सय ९७ देशका एक लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
बुधबार मध्याह्नसम्म एक सय ९७ देशमा चार लाख २२ हजार नौ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा १८ हजार नौ सय ६ जनाको मृत्यु भएको छ। यसमध्ये एक लाख नौ हजार एक सय ४३ जना निको भएर घर पनि फर्केका छन्।
अझै संसारभर दुई लाख ९४ हजार दुई सय १७ जनाको उपचार भइरहेको छ। तिमध्ये करिब ४ प्रतिशत अर्थात १३ हजार ९५ जना गम्भीर रहेका छन्।
बुधबारसम्म सबैभन्दा बढी बिरामी चीनमा ८१ हजार दुई सय १८ जना देखिएका छन्। जसमध्ये तीन हजार दुई सय ८१ जनाको मृत्यु भएको छ। बिरामीमध्ये ७३ हजार ६ सय ५० जना निको भएका छन्। तर, चीनमा पनि संक्रमण रोकिएको छैन। गत २४ घन्टामा ४७ जना नयाँ संक्रमित देखिएका छन्।
चीनभन्दा पनि इटालीमा भयावह अवस्था रहेको छ। इटालीमा चीनभन्दा पनि दोब्बर ६ हजार आठ सय ४६ जनाले ज्यान गुमाइसकेका छन्। ६९ हजार एक सय ७६ मध्ये आठ हजार तीन सय २६ जनामात्रै निको भएका छन्, अरुको उपचार भइरहेको छ।
तेस्रो नम्बरमा अमेरिका रहेको छ। जहाँ ५४ हजार आठ सय ८१ जना बिरामी रहेका छन भने सात ८२ जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकामा पनि नयाँ संक्रमण रोकिएको छैन, गत २४ घन्टामा ५८ जना नयाँ संक्रमित भेटिएका छन्।
स्पेनमा पनि ठूलो संख्यामा बिरामीको मृत्यु भएको छ। ४२ हजार ५८ बिरामीमध्ये दुई हजार नौ सय ९१ जनाले ज्यान गुमाएका छन्। अझै दुई हजार ६ सय ३६ जना गम्भीर रहेका छन्।
जर्मनीले भने कोरोना भाइरसको असर नियन्त्रणमा राखेको छ। ३२ हजार नौ सय ९१ जना बिरामीमध्ये एक सय ५९ जनाको मात्रै ज्यान गएको छ। तीन हजार दुई सय ९० जना उपचार गरेर घर फर्किसकेका छन्।
इरान, फ्रान्स, स्वीट्जरल्यान्ड र दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण कम भएको छैन। दक्षिण कोरियामा गत २४ घन्टामा मात्रै एक सय नयाँ संक्रमित भेटिएका छन्। नौ हजार एक सय ३७ बिरामीमध्ये एक सय २६ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा पनि संक्रमण बढ्दै गएको छ। गत २४ घन्टामा मात्रै २६ जना संक्रमित थपिएका छन्। भारतमा बुधबार मध्याह्नसम्म पाँच सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १० जनाको मृत्यु भएको छ।
नेपालमा भने नयाँ संक्रमण देखिएको छैन। अहिलेसम्म देखिएका दुई जनामध्ये एक जना उपचार गरेर निको भइसकेका छन भने एक जनाको उपचार भइरहेको छ।
नयाँ संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको छ। यातायात बन्द गरिएको छ भने सीमा नाका पनि ठप्प पारिएको छ।











