आठ भारतीयलाई बन्धक बनाएको भन्दै प्रहरी प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा बुझाइयो
११ जना भारतीय नागरिकलाई अमेरिका पठाउने प्रलोभनमा काठमाडौं ल्याएर बन्धक बनाउँदै फिरौती रकम मागिएको दाबी प्रहरीको छ।
काठमाडौं, वैशाख ४ : भारतबाट काठमाडौं ल्याएर बन्धक बनाउँदै फिरौती मागेको आरोपसहित प्रहरीले आठ जना भारतीय नागरिकलाई अपहरण तथा शरीर बन्धक तथा संगठित अपराधको कसुरमा मुद्दा दर्ता गर्न सिफारिससहित फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
११ जना भारतीय नागरिकलाई अमेरिका पठाउने प्रलोभनमा काठमाडौं ल्याएर बन्धक बनाउँदै फिरौती रकम मागिएको दाबी प्रहरीको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले काठमाडौं सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रहरी प्रतिवेदन अनुसार भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न प्रहरीको माग छ।
यीमध्ये प्रमुख योजनाकार इन्दुसिंह यादव लामो समयदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्ने गरेको, उनले चिनजानका व्यक्तिलाई प्रयोग गरिएको तथा भारतीय नागरिकलाई नेपालमा बन्धक बनाउन अन्य व्यक्तिको संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेकाले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय माग गरी अभियोगपत्र दर्ता गर्न राय दिइएको छ।
आरोपितलाई गत फागुन २ गते प्रहरीले पक्राउ गरेको थियो। ११ जना भारतीय नागरिकलाई बन्धक बनाएको सूचनाका आधारमा प्रहरीले रातो पुलस्थित धोबीखोला कोरिडोर नजिकैको एक घरबाट उद्धार गरेको थियो। प्रहरी प्रतिवेदन अनुसार पीडितले आफूहरूलाई भारतबाट काठमाडौँ हुँदै युएइ, ब्राजिल, मेक्सिको हुँदै अमेरिका पुर्याएर कामदार भिसा दिलाउने प्रलोभनमा पारेको प्रहरी दाबीे छ।
बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई अपहरणकारी गिरोहले फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै परिवारबाट रकम असुली गरेको तथ्यसमेत भेटिएको छ। उक्त प्रतिवेदनलाई काठमाडौं सरकारी वकीलले अध्ययन र रुजु गरी मुद्दा दायर गर्ने तयारी भएको छ।












