Kathmandu Press

निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

कानूनका विज्ञ, कर्मचारी, सांसदहरू र अन्य सरोकारवाला समेतको सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी मन्त्रीलाई बुझाइएको दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले बताइन्।
निजामती सेवामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं, वैशाख ४ : निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग गरिएको छ।

दलित महिला संघ नेपालका पदाधिकारीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर बन्दै गरेको नयाँ निजामती सेवासम्बन्धी विधेयकमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न ध्यानाकर्षण गराएका हुन्।

सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ तयार गरी संसद्मा पेश गरिसकेको छ। सो विधेयकमाथि संसद्मा सैद्धान्तिक छलफलपछि अहिले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् । अब सो विधेयकमाथि संसदीय समितिहरूमा छलफल हुनेछ।

कानूनका विज्ञ, कर्मचारी, सांसदहरू र अन्य सरोकारवाला समेतको सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी मन्त्रीलाई बुझाइएको दलित महिला संघकी अध्यक्ष कला स्वर्णकारले बताइन्।

विधेयकले सबैको समावेशी प्रतिनिधित्वको परिकल्पना गरेपनि अझैपनि दलित र दलित समुदायको प्रतिनिधित्वबारे प्रष्ट हुन नसकेको अधिकारकर्मीको भनाई छ। विधेकयले सबै महिलाको प्रतिनिधित्वबारे बोलेपनि त्यसभित्र दलित महिलाको अवस्थाबारे भने विधेयक मौन रहेको उनीहरूको भनाइ छ।

दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोब, अध्यक्ष कला स्वर्णकारलगायतले सोमबार मन्त्री जोशीलाई भेटेर विधेयकमा समेटिएका व्यवस्था र सुधार गर्नुपर्ने विषयहरू समेटिएको संशोधन प्रस्ताव बुझाएका हुन्।

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्