‘इन्साइड ट्रेडिङ’मा गैरकानुनी लाभ लिएको अभियोगमा न्यौपानेलाई जेल सजाय
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसला अनुसार न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको भित्री सूचनामा भएको पहुँचको दुरुपयोग गरेको छ।
काठमाडौं, ३ वैशाख : विशेष अदालतले सेयरको भित्री कारोबार (इन्साइड ट्रेडिङ) मा गैरकानुनी कार्य गरेको अभियोगमा कारोबारी गुरुप्रसाद न्यौपानेलाई दुई वर्ष कैद सजाय सुनाएको छ।
अदालतले बिगो र जरिवाना गरी न्यौपानेबाट झण्डै ६ करोड रूपैयाँ बराबर रकम असुल्नुपर्ने ठहर गरेको हो। रिडी हाइड्रोपावर डेभलपमेन्ट प्रालिका अध्यक्ष छँदा उनले सेयरको भित्री कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिकमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको फैसला अनुसार न्यौपानेले आफै अध्यक्ष रहेको कम्पनीको भित्री सूचनामा भएको पहुँचको दुरुपयोग गरेको छ। न्यौपानेले गैरकानुनी रूपमा १ करोड ९९ लाख १० हजार रूपैयाँ लाभ लिएको ठहर अदालतको छ।
आरोेपीबाट बिगो रकमसँगै यसको दोब्बरले हुने ३ करोड ९८ लाख २० हजार रूपैयाँ जरिवाना पनि हुने फैसला भएको छ। विगो र जरिबानाको जरिवाना हिसाव गर्दा ५ करोड ९७ लाख तिर्नुपर्ने हुन आउँछ। विशेष अदालतले न्यौपाने ७३ वर्षका ज्येष्ठ नागरिक भएकाले २ वर्ष कैद ठहर भए पनि ५० प्रतिशत छुट पाउने व्याख्या समेत अदालतल गरेको छ। उनले १ वर्ष मात्रै कैद भुक्तान गर्न पाउने सुविधा अदालतबाट पाएका छन्।












