Kathmandu Press

सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ

उनले  नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म बिस्तार गर्न पनि आग्रह गरिन्। '
सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ

काठमाडौं, वैशाख २ : नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटिटिएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरे। यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ। मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ।

सो अवसरमा मन्त्री शर्माले देशैभरि अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्याउने सरकारको अभियान साकार हुँदै गएको बताइन्। उनले  नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म बिस्तार गर्न पनि आग्रह गरिन्। 'सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट बञ्चित गर्दैन' उनले भनिन्, “सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ।' 

Hardik ivf

इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गरे। सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उनले आग्रह गरिन्। 

कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै उनले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाइन्। उनले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याए। उनले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताइन्। 

सिंहदरबारमा भएको उक्त कार्यक्रममा सहभागी पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा प्रभावकारी सञ्चार सेवा सुरुआत हुनु महत्वपूर्ण भएको बताइन्। उनले सो सेवालाई थप स्थानमा बिस्तार गर्दै सेवाको गुणस्तर र दिगो बनाउन मन्त्री शर्माको ध्यानाकर्षण गराइन्। 'टावर हुने तर फोन नलाग्ने, इन्टरनेट पुग्ने तर राम्रोसँग नचल्ने पनि हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ', पहाडीले भनिन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सबै जिल्लामा उक्त सेवा पुर्याउने प्रतिबद्धता जनाए। साथै विभिन्न चुनौतीका बीच पनि निकट भविष्यमै मुगु र हुम्लामा पनि सेवा पुर्‍याउने बताए। उनले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताए। बिस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै सचिव सुवेदीले सञ्चार प्रविधिमा फड्को मार्नुपर्नेमा जोड दिए।

कार्यक्रममा डोल्पाबाट भर्चुअल रुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद शाहले ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या रहेको तर प्रभावकारी सेवामा विशेष ध्यान दिइएको बताए। 

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लामा सीमित स्थानमा मात्रै दुरसञ्चार सेवा उपलब्ध रहेको बताउनुभयो। उनले इन्टरनेट सेवाको अभावमा ठूलो समस्या भोगिरहेको डोल्पाबासीका लागि आजदेखि शुभारम्भ गरिएको एफटिटिएच नेटवर्क कोसेढुंगा सावित भएको बताए। 

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले छरिएर रहेको डोल्पाको बस्तीमा राज्यले  सञ्चार सेवा उपलब्ध गराउन थालेकोमा खुसी व्यक्त गरे। 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्