देशमा राजतन्त्र फर्काउन सम्भव छैन : देउवा
जनताको अधिकार, विकास, समृद्धि सबैका लागि अहिलेकाे व्यवस्था नै सबैभन्दा उपयुक्त भएको स्पष्ट पारे।
काठमाडौं, वैशाख २ : कांग्रेस सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन सम्भव नरहेको बताएका छन्।
सूर्यबहादुर थापाको नवौं स्मृति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि अहिलेकाे व्यवस्था नै सबैभन्दा उपयुक्त भएको स्पष्ट पारे।
‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि राजा फर्काउनुपर्यो भनेर मान्छेहरु लागेका छन् । अहिलेकै व्यवस्था सर्वस्वीकार्य छ । व्यवस्थामा समस्याहरु र कमी कमजोरीहरु छन् भनेपनि सुधार गर्ने ठाउँहरु छन् । यही व्यवस्थालाई अझ समय अनुकुल स्वीकार्य बनाएर लैजाऔँ । तर,अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैंले । किनकी यसका लागि दुई तिहाई चाहिन्छ,’ देउवाले भने ।
उनले गणतन्त्रको विकल्प अरू हुन नसक्ने बताए। अहिलेकै व्यवस्थालाई सुदृढ गरेर लानुपर्ने बताउँदै उनले भने, ‘विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन्। त्यसैलै बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’
गणतन्त्रको अभ्यास भएको लामो समय भइसकेकाे र यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ रहेकाे सभापति देउवाकाे भनाइ थियाे। कार्यक्रममा सभापति देउवाले स्व.थापासँग आफ्नो भेट जेलमा भएको स्मरण गर्दै बहुदलीय व्यवस्था ल्याउनका लागि स्व.थापाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।












