प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यकाे घाेषणा, २३ पटक बैठक बस्दा तीनवटा विधेयक पारित
सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी गराएका हुन्।
काठमाडाैं, वैशाख २ : प्रतिनिधिसभाको चालु अधिवेशन २३ पटक बैठक बसेर अन्त्य भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदको तेश्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी गराएका हुन्।
यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये 'विद्युतीय व्यापार विधेयक, २०८०' माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भइसकेको सभामुख घिमिरेले जानकारी दिए।
त्यस्तै प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये 'अनुगमन तथा मूल्याङकन विधेयक, २०७६' र 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७' सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन्। तेश्रो अधिवेशनमा कुल ३ वटा विधेयक पारित भएको उनले बताए।
तेश्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महसुस गरेको बताए। उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्ने उनले बताए। सभामुख घिमिरेले संसदको तेश्रो अधिवेशन अन्त्यसम्बन्धी सूचना पढेर सुनाएका थिए। त्यसअघि बैठक सुरु हुनेबितिकै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएपछि सभामुखले कार्यसूचीमा रहेका कार्यक्रमहरु हटाएका थिए।












