सार्वजनिक सेवा प्रसारण विधेयक : संशोधन प्रस्तावको औचित्यबारे सांसदहरूले गराए जानकारी
सिंहदरबारमा शुक्रबार बसेको बैठकमा विधेयकको सन्दर्भमा सांसदहरुले आफ्नो संशोधन प्रस्तावको औचित्य र महत्वबारे जानकारी गराएका थिए।
काठमाडाैं, चैत ३० : सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकमा विधेयकको सन्दर्भमा सांसदहरुले आफ्नो संशोधन प्रस्तावको औचित्य र महत्वबारे जानकारी गराएका थिए।
बैठकमा संशोधनकर्ता सांसदहरु सञ्जय कुमार गौतम र दामोदार पौडेल वैरागीले विधेयकमाथि विभिन्न विषयमा संशोधन हुनुपर्ने धारणा राखेका थिए।
सांसद दामोदार पौडेल वैरागीले सरकारी सञ्चारमाध्यमलाई प्रभावकारी बनाउदै जनतालाई हेर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए।
उनले हरेक सरकारी सूचनाहरु सरकारी सञ्चारमाध्यममा आउने भएकाले सवै जनताले सूचनाको हक प्राप्त गर्न नसक्ने अवस्था रहेको धारणा राखे।
सरकारी सञ्चारमाध्यम नै जनताले नहेरेको अवस्थामा जनताको अधिकारका सूचनाहरु हेर्नबाट बञ्चित हुन सक्ने उनको भनाइ छ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाएको भन्दै संशोधनमाथि छलफल गरेर अघि बढ्ने बताइन्।












