Kathmandu Press

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा २०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो। २७ वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ। 
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

स्याङ्जा, चैत ३० : ढुंगा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर। ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो। सिंगाे बस्ती नै सफा र सुन्दर देखिन्छ। यो सिरुबारी गाउँको विशेषता हो। 

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो। गुजुमुज्ज परेको गुरुङ बस्ती। आफ्नै वेशभूषा र संस्कृतिले भरिएको छ। यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो। नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सिप लिने गर्छन्। 

क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा २०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो। २७ वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ। 

Hardik ivf

सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन्। गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ। हाल २१ वटा घरमा घरबास सञ्चालनमा छन्। दैनिक एक सय ६० जना पाहुन राख्नसक्ने क्षमता यहाँका घरबासको छ। 

पाहुनाको आगमन बढ्न थालेपछि घरबास सञ्चालकले धान्न नसक्ने स्थिति आएको घरबास सञ्चालक बताउँछन्। यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन्। बाजागाजाका साथ फूलमाला पहिर्‍याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्‍याउँछन्। 

गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन्। पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन्। राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ। सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन्। 

पछिल्लो पाँच वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताइन्। उनका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले धेरै आन्तरिक पर्यटक पनि आउन थालेका छन्।

केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिका कारण आन्तरिक पर्यटकको पनि घुइँचो लाग्न थालेको गुरुङले बताइन्। पछिल्लो समय आन्तरिक तथा बाह्य गरी महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेका उनको भनाइ छ। 

असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ सञ्चालित सबै घरबास दैनिकजसो भरिभराउ हुने संयोजक गुरुङले जानकारी दिइन्। पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ आउनु एक/दुई दिन अगाडि नै ‘बुकिङ’ गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ। 

पर्यटकले यहाँका घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने प्रतिक्रिया दिने गरेका गुरुङले बताइन्। 'अहिले धेरै पर्यटक आउन थालेका छन्। कहिलेकाहीँ त यहाँका घरबासले धान्नै मुस्किल हुन्छ', उनले भनिन्, 'सुरुमा विदेशी पर्यटक मात्रै आउने गरेकामा पछिल्लो समय ग्रामीण पर्यटनका बारेमा प्रचारप्रसारका साथै सरकारका विविध नीतिले आन्तरिक पर्यटक पनि बढ्न थालेका छन्।'

सरकारले २०६७ मा होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि बनाएसँगै विस्तारै धेरै पर्यटकीय गन्तव्यमा होमस्टे सञ्चालनमा आउन थालेका गुरुङको भनाइ छ। 'अहिले यहाँ हरेक महिना दुई हजार पाँच सयदेखि तीन हजारसम्म पाउना आउने गरेका छन्। यो वर्ष १५ हजार पाहुन आएका छन्। यो सङ्ख्या बर्सेनि बढिरहेको छ', उनले भनिन्।

सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जीतेन्द्र गुरुङले संस्कृतिक कार्यक्रम तथा सरसफाइका कारण धेरै पर्यटक यहाँ आउने गरेका बताए। देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा वेशभूषाको प्रशंसा गर्ने गरेका उनको भनाइ छ। 

घरबासमा प्रांगारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको अध्यक्ष गुरुङले बताए। 'पाहुना आउनेबित्तिकै परम्परागत पोसाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौँ। यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ। यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दोरहेछ', उनले भने।

अध्यक्ष गुरुङले सडक सञ्जालको सहज पहुँच र विस्तारले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको बताए। 'अहिले धेरैतिरबाट यहाँ आउने सडकको सुविधा भएको छ। यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको हो', उनले भने, 'दिनदिनै पर्यटकको सङ्ख्या बढ्दा उत्साहित भएका छौँ। सङ्ख्या व्यवस्थापनमा केही समस्या भने हुने गरेको छ।'

सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कलासंस्कृतिले लोभिने गर्छन्। एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन्। धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन÷अवलोकनका लागि यहाँ आउने गरेका अध्यक्ष गुरुङको भनाइ छ। उनका अनुसार सरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन्। 

चितवनबाट घुम्न आएकी देवी शर्माले सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताइन्। खासगरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन/अवलोकनमा आएको उनको भनाइ छ। सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलो रहेको शर्माले बताइन्।

'यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँका घर, बाटो र मानिसको व्यवहार देख्दा निकै खुसी लाग्यो', उनले भने, 'सफा ठाउँ, रमणीय दृश्य, अतिथिको स्वागत र सत्कार गर्ने फरक शैली, खानपान र बासस्थानलगायत कुराले यहाँ आउनेलाई आकर्षित गर्दछ। अहिलेको परिवेशमा पनि यो गाउँको कला, संस्कृति र संस्कारले ठूलो पाठ सिकाउँछ।'

भैरहवाबाट सिरुबारी अवलोनका लागि आएको हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताए। पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उनको भनाइ छ। 

ज्ञवालीले गाउँमा रहेका सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारकोसमेत झल्को दिने बताए। 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्