सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी
सांसद लक्ष्मणकिशोर चौधरीले संसदीय दलमा बहुमत सदस्यहरूले आफूलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर सरकार गठनको पहल गर्ने निर्णय भएको बताए।
कैलाली, चैत ३० : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ। प्रदेशसभाका नाउपका सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन्।
प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन्। तर सत्ता गठबन्धन र कांग्रेस दुवैले बहुमत पु¥याउन नसकेर सरकार गठन हुन सकेको छैन । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ।
नाउपका सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै त्यसका लागि छलफल थाल्ने बताएका छन्। सांसद लक्ष्मणकिशोर चौधरीले संसदीय दलमा बहुमत सदस्यहरूले आफूलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर सरकार गठनको पहल गर्ने निर्णय भएको बताए।
प्रदेशसभामा नागरिक उन्मुक्तिका अहिले ६ सांसद छन्। चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै चार सांसदले हस्ताक्षर गरिसकेका छन्।
पार्टी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको द्वन्द्वका कारण सुदुरपश्चिममा नागरिक उन्मुक्तिले राजनीतिक निर्णय लिन सकिरहेको छैन। अध्यक्ष श्रेष्ठ वर्तमान सत्ता गठबन्धनमै सामेल भएर अघि बढ्नु पर्ने पक्षमा छिन् भने रेशमले कांग्रेससँग मिलेर अघि बढ्ने नीति लिएका थिए।
अहिलेकै अवस्थामा सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिना सरकार बन्न बहुमत पुग्दैन।












