लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची छ।
दाङ, चैत ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्।
केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची छ।
संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्।
महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ।
तर मुख्यमन्त्री नियुक्त हुनुभन्दा अघि उनले गरेको सहमतिबमोजिम काम नगरेको भन्दै सरकारमा सहभागी साना दलहरू असन्तुष्ट देखिन थालिसकेका छन्। त्यहीकारण महराले हतारिएर विश्वासको मत लिने तयारी गरेका हुन्।
महरालाई सरकारमा सहभागी दलहरुले विश्वासको मतअघि नै सहमति कार्यान्वयन गर्न दबाब दिइरहेका छन्।












