Kathmandu Press

चिनियाँ विश्वविद्यालयको संस्कृत मोह, नेसंविसँग सहकार्यकाे सम्झौता

यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो। 
चिनियाँ विश्वविद्यालयको संस्कृत मोह, नेसंविसँग सहकार्यकाे सम्झौता

काठमाडौं, चैत २९ : विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ। यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो। 

नेसंविका उपकुलपति प्राध्यापक डा यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा वाङडिङ्ग हुवाबीच सहकार्यसम्बन्धी पाँच बुँदे सम्झौतामा आज हस्ताक्षर भएको छ। सम्झौताअनुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिने छ। साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाई समेत आदनप्रदान गर्नेछन्।

Hardik ivf

यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रूपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्नेछन्। सम्झौताअनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदनप्रदान गरिने सम्झौतामा उल्लेख छ। 

सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ। सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो। विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उहाँले जानकारी दिए। 

प्राध्यापक डा हुवाले दुई विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत सुरु गर्नुपर्ने बताए। यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उनको थियो। चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताए। संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्व विश्वव्यापी रहेको धारणा उनको थियो। 

नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गरे। 

सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष  छू ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन (इन्दिरा) को उपस्थिति थियो।

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्