वनस्पति ऐन मन्त्रालयको पहिलो प्राथमिकतामा छ : वनमन्त्री साह
उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न भौगोलिक क्षेत्र र हावापनीमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समय सापेक्ष विकास गरी पर्यटन विकास सँगै स्थानीय रोजगारी सिर्जना गर्न
काठमाडौं, चैत २९ : वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुडीले वनस्पति विभागका कार्यलाई प्रभावकारी बनाउन प्रस्तावित वनस्पति स्रोतसम्बन्धी विधेयकलाई ऐन बनाउनु मन्त्रालयको पहिलो प्राथमिकता भएको बताएका छन्।
‘वनस्पति विभागले गरिराखेका कार्यहरुलाई थप प्रभावकारी बनाई आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको छ। मेरो र मन्त्रालयको पहिलो प्राथमिकता पनि प्रस्तावित वनस्पति स्रोतसम्बन्धी विधेयकलाई ऐनको रुपमा ल्याउनु हो । ऐन बनाउन मेरो सम्पूर्ण प्रयास रहन्छ,’ बिहीबार ललितपुरमा आयोजित वनस्पति विभागको ६७ औं वार्षिकोत्सव तथा २५ औं वनस्पति दिवस उनले भने।
उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न भौगोलिक क्षेत्र र हावापनीमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समय सापेक्ष विकास गरी पर्यटन विकास सँगै स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको पनि बताएका छन्। मन्त्री शाहले देशभित्र रहेका सबै वनस्पति उद्यानलाई समय सापेक्ष बनाएर त्यसबाट रोजगारी र पर्यटन प्रर्बद्धन गर्नुपर्नेमा जोड दिए।
‘देशका विभिन्न भौगोलिक क्षेत्र र हावापनीमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समय सापेक्ष विकास गरी पर्यटन विकास सँगै स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ। जडिबुटी खेतीमार्फत स्थानीयको आयआर्जनमा टेवा दिने र प्रयोगशालाका कार्यलाई थप प्रभावकारी बनाई जडिबुटी र सुगन्धित तेलको व्यापार प्रर्बद्धनमा निरन्तरता दिनुपछर्,’ मन्त्री सुडीले भने।
उक्त कार्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग मिलेर खोज, प्रभावकारी अध्ययन अनुसन्धान गरी प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपककुमार खरालले आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाडसम्बन्धि ऐन बनाउन मन्त्रालयले मस्यौदा तर्जुमा गरी सरोकारवालसँग छलफलको अन्तिम चरणमा रहेको बताए।












