Kathmandu Press

रोमाञ्चक खेलमा पिएसजीमाथि बार्सिलोनाको जित

बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टिन्सनले एक गोल गरे। पिएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले गोल गरेका थिए।
रोमाञ्चक खेलमा पिएसजीमाथि बार्सिलोनाको जित

काठमाडौं, चैत २९ : युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पिएसजीलाई ३–२ ले हरायो।

बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टिन्सनले एक गोल गरे। पिएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले गोल गरेका थिए।

३७ औं मिनेटमा बार्सिलोनाले अग्रता लियो। उसका लागि राफिन्हाले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

पहिलो हाफमा १ गोलले पछि परेको पिएसजीले दोस्रो हाफको सुरुमै २ गोल थप्दै अग्रता लिएको थियो। ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ५०औं मिनेटमा फावियन रुइजको पासमा भिटिन्हाले गोल गरेपछि पिएसजीले २–१को अग्रता लियो।

६२औं मिनेटमा राफिन्हाले पेड्रीको उत्कृष्ट पासमा गोल गर्दै बार्सिलोनालाई फेरि बराबरीमा ल्याए। ७७औं मिनेटमा क्रिस्टिन्सनले कर्नरमा हेडिङमार्फत गोल गर्दै टिमलाई ३–२को अग्रता दिलाए। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।

च्याम्पियन्स लिगकै क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले बोरुसिया डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

 

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्