Kathmandu Press

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयो : अध्यक्ष ढकाल

ढकालले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियन्त्रण मुखी व्यवस्था गर्दा तथा बाह्य कारणलाई देखाएर सुधारका लागि आन्तरिक पहल नलिएकै कारण आर्थिक वृद्धिदर घटेको दाबी गरे।
सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर भयो : अध्यक्ष ढकाल

काठमाडौं, चैत २८ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन्। उनले अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख भएको धारणा राखे।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको  ५८ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०८० को समुद्घाटनमा अध्यक्ष ढकालले करिव दुई वर्षयता सुस्ताएको अर्थतन्त्रको समस्या समाधानमा निजी क्षेत्रले दिएको सुझाव पनि सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गरे। बाह्यभन्दा आन्तरिक कारणले देशको अर्थतन्त्र कमजोर बनेको टिप्पणी ढकालले गरे।

Hardik ivf

‘करिव दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा अर्थतन्त्रको समस्या झन बल्झिँदै गएको छ। निजी क्षेत्रले रोगको पहिचान गरेर बारम्बार औषधीको सिफारिस गरेकै हो,त्यसमा राज्यको सम्बद्ध पक्षले ध्यान नदिएकै कारण अर्थतन्त्र आजको मोडमा आएको छ,’ अध्यक्ष ढकालले भने।

ढकालले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियन्त्रण मुखी व्यवस्था गर्दा तथा बाह्य कारणलाई देखाएर सुधारका लागि आन्तरिक पहल नलिएकै कारण आर्थिक वृद्धिदर घटेको दाबी गरे।

‘नेपाल श्रीलंका बन्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरियो। जसका कारण हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट झरेर २ प्रतिशतमा खुम्चियो भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिव २ प्रतिशत सकारात्मक भएको छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तिरिक कारण नै प्रमुख हुन्।’

उनले विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने भनेर गरेको प्रक्षेपणलाई उल्लेख गर्दै गत वर्ष भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको र त्यसको मुख्य आधार निजी क्षेत्र भएको बताए।

द्वन्द्वग्रस्त र निकै गरिब भनिएका राष्ट्रहरुमा पनि पछिल्लो एक दशकमा आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि हुँदा नेपालको औसतमा वृद्धिदर ४ प्रतिशत मात्रै भएको उनले बताए।पछिल्लो दुई वर्षमा सरकारका कारण निजी क्षेत्रले काम गर्न नपाउँदा नेपालको आर्थिक वृद्धिदरमा कमी आएको भनाई ढकालको छ।

प्रकाशित मिति: १२:२१ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्