Kathmandu Press

राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए।
राष्ट्रपतिद्वारा छिन्नमस्ता मन्दिरमा पूजाअर्चना

सप्तरी, चैत २७ : राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान यहाँस्थित प्रसिद्व शक्तिपीठ छिन्नमस्ता मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन्। छिन्नमस्ता गाउँपालिका-३ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरे। 

Hardik ivf

मन्दिर दर्शनपछि आयोजित समारोहमा राष्ट्रपति पौडेलले छिन्नमस्ता तराई–मधेसको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताए। उनले कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जरूरी रहेको उल्लेख गरे। उनले भने, 'सप्तरी मेरो मुटुमा छ। यो जिल्लाको हरेक कुरामा म साथमा छु।'

छिन्नमस्ता मन्दिरलाई विश्वका विभिन्न शक्तिपीठमध्ये ५२औँ शक्तिपीठका रुपमा लिइन्छ। सरकारले २०६५ सालमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका उपस्थितिमा जगतगुरु बालसन्तले छिन्नमस्तालाई शक्तिपीठका रुपमा घोषणा गरेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। 

पीठाधीश ठाकुरका अनुसार करिब एक हजार वर्ष अगाडि राजा शक्रसिंहले जङ्लमा सिकार खेल्ने क्रममा पोखरे गुफाबाट छिन्नमस्तादेवीको मूर्ति फेला पारेपछि सामान्य मन्दिरका रुपमा स्थापना गरेका थिए। त्यसपछि २०३९ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले हवाईजहाज दुर्घटनाबाट जोगिएको खुसीयालीमा भगवतीको पक्की मन्दिर अझ ठूलो आकारमा बनाएका थिए ।

कूल १४ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा पोखरी र विभिन्न देवीदेवताका मन्दिरसमेत निर्माण गरिएको छ। मन्दिरमा दर्शन गरेपछि भाकल पूरा हुने जनविश्वास छ। यहाँ मासिक रुपमा नेपाल र भारतका हजारौँ भक्तजन दर्शन र पूजापाठ गर्नका लागि आउने गरेका छन्। यहाँ दैनिक खसी बोका र परेवाको बलि दिने प्रचलन छ। दसैँमा भने भव्य मेला लाग्ने गर्दछ। 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्