Kathmandu Press

संसद भवनको निर्माण छिटो सक्न सभामुखको निर्देशन

‘निर्माणको गति सुस्त छ, यसका पछाडिका कारणहरुबारे छलफल गर्नुपर्छ । के अप्ठ्यारा छन्, के चुनौतीहरु छन् यसबारेमा बुझेर समाधान गरि छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ।’
संसद भवनको निर्माण छिटो सक्न सभामुखको निर्देशन

काठमाडौं, चैत २५ : सभामुख देवराज घिमिरेले सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिएका छन्।

निर्माणाधीन संसद भवनको आइतबार अनुगमन गर्दै उनले भवनको भौतिक प्रगति गत वर्षमा जति हुने भनिएको थियो त्यसको आधा मात्र भएको भन्दै असन्तुष्टि जनाए।

Hardik ivf

‘गत वर्ष मैले अनुगमन गर्दा जति हुने भनिएको थियो त्यसको ५० प्रतिशत जस्तो भयो । यदि निर्माण कार्य सम्पन्न भइहालेछ भने हिउँदे सत्र नै चलाउन सकिन्छ भनेको थिएँ,’ उलने भने, ‘हिउँदे सत्र सकिँदा पनि निर्माण सकिएन । अझै कति लगाउनुहुन्छ थाहा छैन तर एक वर्षको अवधिमा अलिकति प्रगति चाहिँ देखियो।’

त्यति राम्रो प्रगति नदेखिएको उल्लेख गर्दै सभामुख घिमिरेले यसका पछाडिका कारणहरुबारे छलफल गर्न आवश्यक रहेको बताए। उनले भने, ‘निर्माणको गति सुस्त छ, यसका पछाडिका कारणहरुबारे छलफल गर्नुपर्छ । के अप्ठ्यारा छन्, के चुनौतीहरु छन् यसबारेमा बुझेर समाधान गरि छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ।’

भौतिक प्रगति कति भयो र पुरा हुने कति समय लाग्ला भनेर मात्र आफूले अनुगमन गरेको भन्दै घिमिरेले निर्माण कम्पनीलाई पुरस्कृत वा दण्डित गर्ने समय भइनसकेको बताए।

सिंहदरबारको पुतली बगैंचामा संसद भवन निर्माण गर्न सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण आयोजना समन्वय कार्यालय र निर्माण कम्पनी तुँदी सेक जेभीबीच २०७६ असोज १६ मा सम्झौता भएको थियो।

सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण भइसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण ६ महिना म्याद थप गरेर २०७९ चैतसम्म दिइएको थियो ।  निर्माण पूरा नभएपछि दोस्रोपटक एक वर्ष  म्याद थप गरिएको थियो। त्यो म्याद यही चैत मसान्तमा सकिन लागेको छ । चालु महिनाभित्र पनि निर्माण पुरा हुने अवस्था भने छैन।

संसद भवनको निर्माण लागत ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ छ । निर्माणाधीन संसद भवन अत्याधुनिक किसिमको हुने र डेटा, सेक्युरिटी सिस्टमलगायत सबै नयाँ प्रविधिअनुसार बनाइँदै छ।

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्