बार-बेन्च द्वन्द्व फेरि बल्झिने संकेत
न्यायालयमा राजनीतिकरण बढ्नुको मुख्य कारण मध्ये संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई सदस्यको रुपमा राख्नु नै एक कारण रहेको दाबी घिमिरेको थियो।
काठमाडौं, चैत २५ : नेपाल बारएशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले गत शनिबार पोखरामा आयोजित बार भेलामा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठमाथि ‘सामान्ति’ को आरोप लगाउँदै न्यायपालिका पुनर्संरचनाको उद्घोष गरे।
न्यायालयमा राजनीतिकरण बढ्नुको मुख्य कारण मध्ये संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई सदस्यको रुपमा राख्नु नै एक कारण रहेको दाबी घिमिरेको थियो। उक्त भेलामा न्यायापालिकामा सुधार होइन, पुनर्संरचना नै जरुरी रहेको ठहर घिमिरेसहितका कानुनविद्ले गरेका छन्।
पुनर्संरचनाको खाका तय गर्न भन्दै सर्वोच्च अदालत बारका पूर्व अध्यक्ष संविधानविद् पूर्णमान शाक्यको नेतृत्वमा एउटा कमिटी नै बनेको छ। न्यायपालिकाको पुनर्संचनाका लागि बारले सातै प्रदेशमा अभियानको घोषणा समेत गरेको छ। त्यस्को शुरुवात पोखराबाट गरिएको हो।
बार भेलामा घिमिरेले भनेका थिए, ‘न्यायपालकाको नेतृत्व कानुनव्यवसायीको स्वतन्त्रता चाहँदैन, त्यस्को पाउमा लगेर हाम्रो अस्तित्व सेलाईदेओस् भन्ने चाहन्छ। अहिलेको न्यायपालिकाको नेतृत्व फ्युडल (सामन्ति) छ। आस गर्न सकिँदैन।’ घिमिरेले आफु उपस्थित भएको मञ्चमा प्रधानन्यायाधीशलाई उपस्थित हुन डर लाग्ने गरेको समेत बताएका थिए।
‘यदि शासन गर्नका लागि न्यायलयमा आएको भए शासन गर्न दिइने छैन। पहिला हामी न्यायिक सुधार भन्थ्यौं। सुधारबाट त संभव नै रहेनछ। त्यही भएर हामीले पुनर्संरचना भनेका हौं। कस्तो पुनर्संरचना भने न्यायाधीशको जरो नै खोतल्नुपर्ने जरुरी छ,’ उनको चेतावनी थियो।
बारले प्रधानन्यायाधीशविरुद्ध लाञ्छना लगाउँदै न्यायपालिकाको पुनर्संरचना अभियान चलाएपछि प्रधानन्यायाधीश श्रेष्ठले गत साता सर्वोच्चका न्यायाधीशसँग छलफल समेत गरेको जनाइएको छ। बारको गतिविधिप्रति प्रधानन्यायाधीश श्रेष्ठले गंभिर सरोकार राखेका थिए।
यद्यपि सर्वोच्चले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन। बारले आकस्मिक रुपमा शुरु गरेको न्यायपालिका पुनर्सरचना अभियानले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको आन्दोलनपछि शान्त बनेको न्यायपालिकामा पुनः द्वन्द्व हुने संकेत देखिएको छ। बारले न्यायपालिकाको पुनर्संरचनाका लागि प्रदेश प्रदेशमा टोली परिचालन गरिसकेको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

