लुम्बिनी विकास कोषका प्रमुख भट्टराईविरुद्ध ८० लाख भ्रष्टाचारको अभियोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
काठमाडौं, चैत २५ : लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध ८० लाख रुपैयाँ भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत नखुलेको दाबी अख्तियारको छ। उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएको अख्तियारले जनाएको छ।
भट्टराईले जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको तथ्य अख्तियारको छानबिनबाट खुलेको छ।
अख्तियारले सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र विगो बमोजिम जरिवाना मागदाबी गरेको छ। भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बायम गरिएको छ। नन्दनीलाई पनि ८० लाख नै विगो कायम गरी सजाय तथा विगो बमोजिम जरिवाना मागदाबी लिइएको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

