Kathmandu Press

विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध

विभागद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य एक बहुआयामिक विकासको मुद्दा भएको र बहुपक्षीय, बहुक्षेत्रीय सहकार्यबाट मात्र स्वास्थ्यसम्बन्धी नागरिकका अधिकार सुनिश्चित गर्न सकिने जनाएको छ। 
विश्व स्वास्थ्य दिवस : सरोकारवालालाई सहकार्य गर्न अनुरोध

काठमाडौं, चैत २५ : विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ। दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो। 

विभागद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य एक बहुआयामिक विकासको मुद्दा भएको र बहुपक्षीय, बहुक्षेत्रीय सहकार्यबाट मात्र स्वास्थ्यसम्बन्धी नागरिकका अधिकार सुनिश्चित गर्न सकिने जनाएको छ। 'स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था, गैरसरकारी सङ्घ, संस्था, निजी क्षेत्रहरु सबैले पहल लिन, पैरवी गर्न र थप सहकार्य जरुरी रहेको छ', विज्ञप्तिमा उल्लेख गरिएको छ।

Hardik ivf

हाल विश्वव्यापी रुपमा विभिन्न रोग, महामारीका कारण चुनौती थपिएको  उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'जलवायु परिवर्तन र प्रदूषण जस्ता वातावरणीय समस्याले सफा हावामा श्वासप्रश्वास लिन पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ भने खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र समग्र वातावरणमा प्रतिकूल असर परिरहेको छ। घरभित्र र बाहिरको प्रदूषणले प्रत्येक पाँच सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ।'

स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने, मानसिक स्वास्थ्य तथा आरोग्यको सुदृढीकरण गर्ने विभागले जनाएको छ। विज्ञप्तिमा शिक्षा सूचनाका साथै सफा खानेपानी, स्वच्छ हावा, पोषण, गुणस्तरीय आवास, समताको सम्बोधन तथा विभेदबाट छुटकाराको विषयमा सचेतना तथा पैरवी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।  

संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा प्राप्त हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, स्वास्थ्य उपचारसम्बन्धी सूचना र उपचार सेवामा समान पहुँचको हक प्रत्याभूति गरेको छ। संवैधानिक तथा कानुनी व्यवस्था कार्यान्वयनका लागि सङ्घीय संरचना अनुरुप स्वास्थ्य नीति, ऐन, नियमावली, रणनीति तथा योजना तर्जुमा भई कार्यान्वयन भइरहेको विभागले जनाएको छ। 

स्वास्थ्य सेवाको पहुँचका लागि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको र स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार गरिएको विभागको भनाइ छ। सरकारले सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा पालिकास्तरमा आधारभूत अस्पताल स्थापना तथा सञ्चालन गर्ने नीति लिएको विज्ञप्तिमा उल्लेख छ। 

सरकारले निःशुल्क स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा तथा नवशिशु कार्यक्रम, जोखिममा रहेका गर्भवतीलाई एयर एम्बुलेन्स सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, विपन्नलाई आठ जटिल प्रकारका रोगको उपचारमा सहुलियत, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र लगायतका कार्यक्रम गरिरहेको छ। नसर्ने रोग नियन्त्रण गर्न ७७ जिल्लामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिरहेको छ।

विभागले पूर्वाधार विकास, जनशक्ति, चिकित्सकीय उपकरण तथा सामग्री व्यवस्थापन गर्न तीनै तहको सरकारले लगानी गर्नुपर्ने जनाएको छ। ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने मूल नाराका साथ आज विश्व स्वास्थ्य दिवस विश्वभर मनाइँदैछ।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्