सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्छ : चन्द्र भण्डारी
अपवादबाहेक अधिकांश नेताहरु देश बनाउन नभइ आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ।
काठमाडाैं, चैत २४ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने बताएका छन्।
शनिबार बुटवलमा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको साधारणसभा उद्घाटन गर्दै नेता भण्डारीले मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै ठूला दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको बताएका हुन्।
अपवादबाहेक अधिकांश नेताहरु देश बनाउन नभइ आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ। सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै नेता भण्डारीले जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए।
उनले न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरुकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको टिप्पणी गर्नुभयो । नेता भण्डारीले चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको धारणा राखे।
देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने उनले आग्रह गरे। नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

