एमालेका तर्फबाट इलाम २ मा सुहाङले गराए मनोनयन दर्ता
एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन्। त्यहाँ सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
इलाम, चैत २४ : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ मा धमाधम मनोनयन दर्ता भइरहेकाे छ। यसैक्रममा नेकपा एमालेले पनि मनोनयन दर्ता गराएको छ।
एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण रहेका छन्।
सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानु रत्न चोक इलाममा रहेको शहीद रत्नकुमार वान्तावासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।
एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए।
गत भदौ २५ गते नेम्वाङको निधन भएपछि इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। उक्त क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ। २०५६ सालयता एमालेका नेम्वाङ अपराजित रहँदै आएका थिए। त्यसकारण पनि सहानुभूतिको मत पाएर जित्ने आशासहित एमालेले सुहाङलाई उम्मेदवार बनाएको हो।
त्यहाँ सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्। शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएकाे छ। रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

