इलाम २ मा बाबु नेम्वाङसँग हारेका डम्बर खड्का छाेरा सुहाङसँग भिड्दै
पहिला कांग्रेसका खड्कालाई सघाएको माओवादी केन्द्रले यसपालि सत्ता साझेदार रहेका कारण एमालेलाई सहयोग गर्ने भएको छ।तर इलाम माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिँदैन।
काठमाडौं, चैत २४ : नेपाली कांग्रेसबाट इलाम २ का लागि प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा डम्बर खड्काले केही बेरमा मनोनयन दर्ता गराउँदैछन्। कांग्रेसबाट इलाम जिल्ला पार्टी सभापतिसमेत रहेका खड्का २०७९ मंसिर ४ मा सम्पन्न चुनावमा एमालेका सुवा नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङले ३० हजार २० मत ल्याएर विजय हासिल गर्दा उनी २९ हजार ९०६ मतमा सीमित भएका थएि।
गत भदौ २५ गते नेम्वाङको निधन भएपछि इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। अहिले खड्काको नेम्वाङकै कान्छा छोरा सुहाङ नेम्वाङसँग प्रतिस्पर्धा हुने आकलन गरिएको छ। उक्त क्षेत्रमा एमालेले निरन्तर जित्दै आएको छ। २०५६ सालयता एमालेका नेम्वाङ अपराजित रहँदै आएका थिए। त्यसकारण पनि मात्र नभएर सहानुभूतिको मत पाएर जित्ने आशासहित एमालेले सुहाङलाई उम्मेदवार बनाएको हो।
यहाँ रास्वपाबाट मिलन लिम्बु उम्मेदवार बन्दैछन्। माओवादी केन्द्र छाडेर आएका लिम्बू आदिवासी जनजाति पत्रकार महासंघका महासचिव पनि भएकाले र इलाम जनाजातिको बाहुल्य रहेको क्षेत्र भएकाले उनले राम्रै प्रभाव जमाउने आकलन गरिएको छ। जितेनन् भने पनि उनले कांग्रेस वा एमालेको मत काटिने सम्भावना छ। पहिचानवादी मुद्दा बोकेर हिँडेका केही उम्मेदवारले पनि मत प्रभावित गर्दा कांग्रेस र एमालेले नै क्षति बेहोर्नुपर्ने अवस्था आउने अनुमान गरिएको छ। काेसी प्रदेश नामकरणकाे मुद्दा पेचिलाे बनेर रहेकाले र साे विषयमा एमालेसँग पिहचानवादीहरू बिच्किएकाले कांग्रेसलाई लाभ हुने विश्लेषण राजनीतिक वृत्तमा भइरहेकाे छ।
पहिला कांग्रेसका खड्कालाई सघाएको माओवादी केन्द्रले यसपालि सत्ता साझेदार रहेका कारण एमालेलाई सहयोग गर्ने भएको छ।तर इलाम माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिँदैन। सत्ता साझेदार रहे पनि रास्वपा र नेकपा एकीकृत समाजवादीले पनि मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै उम्मेदवारी दिने अवस्था रहेकाले त्यसको फाइदा कांग्रेसका खड्कालाई हुने देखिन्छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकाे गृह जिल्ला भएकाले र साे पार्टीकाे छुट्टै उम्मेदवार रहेकाले त्यहाँ एमालेकाे मत क्षाति हुने बताइएकाे छ। खड्काले पहिलाभन्दा अहिले कांग्रेसलाई सहज भएकाले जित सुनिश्चित रहेकाे बताउँदै आएका छन्।
खड्का उनी नेविसंघको १२ औँ अधिवेशनबाट केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए। संसदीय राजनीतिक इतिहाससँग उनी २०७४ सालबाट जाेडिएका हुन्। त्यतिबेला उनी इलामको २ (क) बाट चुनाव लडेका थिए र तत्कालीन वाम गठबन्धनका उम्मेदवार राम रानासँग पराजित भएका थिए। स्पष्टवक्ता खड्का जिल्लामा विकासवादी नेताका रूपमा चिनिन्छन्।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

