यी हुन् वाइडवडी भ्रष्टाचार प्रकरणमा मुछिएका ३४ प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित ३४ जनामाथि बिहीबार भ्रष्टाचार मुद्दा चलाएको थियो।
काठमाडौं, चैत २२ : वाइडबडी विमान खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा तत्कालिन वायु सेवा निगम संचालक समितिको ‘सेटै’ मुछिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित ३४ जनामाथि बिहीबार भ्रष्टाचार मुद्दा चलाएको थियो। अभियोगपत्र अनुसार प्रतिबादी कायम गरिएकामा पूर्व मन्त्री, सचिव, सञ्चालक समितिका पदाधिकारीसहित २४ नेपाली छन् भने बाँकी विदेशी हुन्। उनीहरु सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो वमोजिम जरिवाना र जेल सजायको माग राखेर अदालतमा मुद्दा दायर गरिएको छ।
भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा प्रतिबादी कायम गरिएकामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका तत्कालीन सचिव एवं निगमको सञ्चालक समितिको अध्यक्ष पदमा कार्यरत रही हाल सेवानिवृत्त शंकरप्रसाद अधिकारी रहेका छन्। पूर्व संघिय मन्त्री शाही हाल हुम्ला क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य समेत छन्। उनी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन्।
अख्तियारले भन्सार विभागका तत्कालीन महानिर्देशक एवं निगमको सञ्चालक समिति सदस्यहरु शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, अच्युतराज पहाडी तथा निगमको तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौलालाई पनि दोषी किटान गरेको छ। यी मध्ये लामिछाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बहालवाला सहसचिव हुन् भने सिटौला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक समेत हुन्।
यस्तै, निगमका तत्कालीन निर्देशक एवं हाल नायब महाप्रबन्धक जनकराज कालाखेती, निगमका तत्कालीन निर्देशक रामहरि शर्मा सेढाईं, निगमका तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, निगमका तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, निगमका तत्कालीन कामु निर्देशक एवं हालका निर्देशक उपेन्द्र पौडेल छन्।
यस्तै, निगमका तत्कालीन निमित्त निर्देशक एवं हालका निर्देशक वरिष्ठ क्याप्टेन श्रवण रिजाल, निगमका तत्कालीन उपनिर्देशक पारस पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका निर्देशक उमेश पौडेल, निगमका तत्कालीन निमित्त उपनिर्देशक एवं हालका उपनिर्देशक बृहतमान तुलाधरलाई पनि अख्तियारले दोषी किटान गरेको छ।
यसैगरी निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, निगमका तत्कालीन नायब महाप्रबन्धक गणेशबहादुर चन्द, निगमका तत्कालीन निर्देशक कर्णबहादुर थापा, निगमका तत्कालीन निमित्त निर्देशक एवं हाल निगमकै वरिष्ठ क्याप्टेन सुवास रिजाल, निगमका तत्कालीन निर्देशक प्रभाशकुमार कर्माचार्यलाई पनि मुद्दामा प्रतिबादी कायम गरिएको छ। यी बाहेक विदेशी कम्पनी र व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
विदेशीहरूमा अमेरिकाको एएआर इन्टरनेसनल इन्कका तत्कालीन अध्यक्ष दीपक शर्मा, जर्मन एभिएसन क्यापिटलका तत्कालीन प्रतिनिधि एवं जर्मन नागरिक क्रिस्टियन नुयलेन, जर्मन एभियसन क्यापिटलका तत्कालीन फाइनान्स डाइरेक्टर ओलेज क्यालिस्टु, एम÷एस एएआर इन्टरनेसनलका अध्यक्ष जोन एम होल्म्स, जर्मन एभिएसन क्यापिटलका मुख्य व्यक्ति अना टोपा, हाइफाई ट्रान्सपोर्टका मुख्य व्यक्ति पाओलो मिरपुरी, हाइफाई एक्स आयरल्यान्ड लिमिटेडका निर्देशक जेराल्ड थर्नटोन, हाइफाई एक्सकै नर्टन रोज, सोही कम्पनीका मार्कस ¥याडब्रच र राल्फ स्प्रिङ्गरलाई पनि भ्रष्टाचारमा कारबाहीका लागि प्रतिवादी कायम गरिएको छ।
आपूर्तिकर्ता कम्पनीहरू एएआर इन्टरनेसनल इन्क, जर्मन एभिएसन क्यापिटल, हाइफाई ट्रान्सपोर्ट एरेओस् र हाइफाई एक्स आयरल्यान्ड लिमिटेडलाई पनि प्रतिबादी बनाइएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो। एयरबस खरिदमा कम्पनीबीच अपारदर्शी कारोबार भएको निश्कर्ष छानविन समितिले निकालेको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

