विमान खरिदमा डेढ अर्ब भ्रष्टाचारको दाबी गर्दै पूर्वमन्त्रीसहित ३२ विरुद्ध मुद्दा
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो।
काठमाडौं, चैत २२ : दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
भ्रष्टाचार मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारी, शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली, अच्युतराज पहाडी सहित ३२ जनालाई प्रतिवादी बनाएको छ। निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो।
कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले दुईवटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। एयरबस खरिदमा कम्पनीबीच अपारदर्शी कारोबार भएको निश्कर्ष समितिले निकालेको थियो।
वाइडवडी खरिद प्रकरणमा विमानको क्षमता घटाइएको, विचौलिया कम्पनी खडा गरिएको, शंकास्पद कारोबार भएको, उत्पादन नम्बर फेरिएको, खरिद कानुन उल्लंघन भएको, कबोल गरिएको मूल्यमा वृद्धि भएको जस्ता दाबीसहित अख्तियारमा उजुरी दर्ता भएको थियो। उजुरी उपर छानविन हुँदा दुईवडा वाइडवडी जहाज खरिदमा भ्रष्टाचार भएको निक्र्योल अख्तियारले गरेको छ।
जहाज खरिद प्रक्रियामा संलग्न पूर्व मन्त्री शाहीसहित तत्कालीन पदाधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो वमोजिम जरिवाना र जेल सजायको माग राखेर अदालतमा मुद्दा दायर गरिएको छ।










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

