Kathmandu Press

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्वपूर्ण रहेको बताए।
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित

काठमाडौं, चैत २१ : प्रतिनिधिसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरे। उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो।

Hardik ivf

राष्ट्रियसभामा उत्पति भएको यो विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भएको थियो।

कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्वपूर्ण रहेको बताए। विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन्।

मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यको आधारमा स्वच्छता र गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्ने व्यवस्था सरकारले यो विधेयकमा ल्याएको हो।

अन्तर्राष्ट्रियमा आएको नयाँ परिवर्तन र खाद्य स्वच्छतामा बढ्दै गएको संवेदनशीलतालाई समेत संस्थागत संयन्त्रमार्फत सम्बोधन गरी स्वस्थ्य र निरोगी नेपाल निर्माण गर्नका लागि खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न यो विधेयक ल्याइएको हो।

यो ऐन प्रमाणीकरण भएको मितिले ९१औं दिनबाट लागू हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते मंगलबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: २०:५० बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्