गण्डकीमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय
बुधबार बसेको राप्रपा बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिए पनि एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय गरेको हो।
काठमाडौं, चैत २१ : राप्रपा बैठकले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।
राप्रपाले विपक्षी गठबन्धनलाई मत दिने ठाउँ भने बाँकी राखेको छ। यसअघि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो।
बुधबार बसेको राप्रपा बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिए पनि एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय गरेको प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए।
गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको अवस्थामा एमालेको भागमा परेको गण्डकी प्रदेशमा बहुमत जुटाउन गठवन्धनलाई समस्या हुने देखिएको छ।
गण्डकीमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने अवस्था सिर्जना भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिइसकेका छन् । यता, गण्डकी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि चैत २७ गतेसम्मको समय दिएका छन्।