कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा
कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएसँगै मुख्यमन्त्री शर्माको राजीनामा आएको हो।
सुर्खेत, चैत २१ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्।
बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्।
केन्द्रको सत्ता समीकरण परिवर्तनको असर प्रदेशमा परेपनि उनले पदबाट राजीनामा दिएका हुन्। कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएसँगै मुख्यमन्त्री शर्माको राजीनामा आएको हो।
प्रदेशसभालाई सम्बोधन गर्दै उनले संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए।
शर्माले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको समेत अनुभव सुनाए। राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको उनले बताए। शर्माले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्ने उल्लेख गरे।