‘राजनीतिक स्थायित्वका लागि बलिया दलको आवश्यकता छ’
उनले अस्थिरता अन्त्यका लागि जनमत विभाजित हुने धेरै राजनीतिक दलहरु होइन बलिया राजनीतिक दलहरुको आवश्यकता भएको भन्दै यसले मात्र सार्वभौमसत्ता बलियो हुनसक्ने बताए।काठमाडौं, चैत २१ : एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरुको आवश्यकता भएको बताएका छन्।
राजधानीमा बुधबार आयोजित ‘सार्वभौमिकता : सीमा र पानी’ छलफल कार्यक्रममा उनले अस्थिरता अन्त्यका लागि जनमत विभाजित हुने धेरै राजनीतिक दलहरु होइन बलिया राजनीतिक दलहरुको आवश्यकता भएको भन्दै यसले मात्र सार्वभौमसत्ता बलियो हुनसक्ने बताए।
‘लोकतन्त्रमा आइसकेपछि राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरुको आवश्यकता पर्छ भन्ने कुराको चेतना नेपाली समाजमा सम्प्रेषण नगरीकन हामी अस्थिर राजनीतिभित्र भएका कमजोर राजनीतिक प्रणालीमाथि प्रहार गर्ने जुन परम्परा चालनी गरेका छौं, नेपाली समाज बिग्रिनुका पछाडि हामी आफैं पनि जम्मेवार छौं भन्ने कुरा सोच्नु पर्छ,’ उनले भने, ‘अस्थिरता के कारणले छ ? त्यसको अन्त्य गर्नको लागि जनमत विभाजित हुने धेरै राजनीतिक दलहरु होइन, बलिया राजनीतिक दलहरुको आवश्यकता पर्छ। जसले सार्वभौमसत्तालाई बलियो बनाउन सक्छ।’
उनले नेपालको सार्वभौमसत्तालाई सबल बनाउने कुरामा आर्थिक सबलता महत्वपूर्ण विषय भएको बताए। आर्थिक रुपमा सबल नभएसम्म पूर्ण सार्वभौमसत्ताको प्रयोग गर्न नसकिने उनको भनाइ छ।
नेता पोखरेलले नेपाललाई आर्थिक रुपमा सबल नबनाइकन पूर्ण सार्वभौमसत्ताको प्रयोग गर्न नसकिने बताए। उनले यसका लागि मुलुकको आर्थिक, सामाजिक विकास र समृद्धिमा जोड दिनुपर्ने बताए। यसमा जति गम्भीर गम्भीर बन्न सक्तयो त्यति नै नेपालको सार्वभौमसत्ता त्यति सबल बन्ने उनको धारणा छ।
सीमा निर्धारणमा परम्परागत नभइ आधुनिक प्रविधिको प्रयोग गरेर अगाडि बढ्नु पर्ने भन्दै यसका लागि राजनीति दल र नेपाली समाजको साझा समझदारी हुनुपर्ने भनाइ पनि उनले राखे।